मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले प्रदेशमा सुशासन कायम गर्दै समृद्धि र लोकतन्त्रको मजबुतीका लागि प्रभावकारी रूपमा काम गर्नुपर्ने अपेक्षा प्रदेशसभाको रहेको बताएका छन् ।
शुक्रबार मधेश प्रदेशसभामा सञ्चारकर्मीसँगको भेट तथा सम्मानका लागि आयोजित कार्यक्रममा बोल्दै सभामुख यादवले मधेश प्रदेशसभा र प्रदेश सरकारबीच सुदृढ सम्बन्ध रहेको उल्लेख गरे । सामाजिक न्यायको पक्षमा प्रदेश सरकारले गर्ने कार्यमा प्रदेशसभाको पूर्ण साथ र सहयोग रहने उनले स्पष्ट पारे । सभामुख यादवले सभामुख पद कुनै दल विशेषको नभई सम्पूर्ण प्रदेशसभाको साझा पद हुने उल्लेख गर्दै पदभार ग्रहण गरेपछि दलगत सीमाभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा व्यक्त गरे । संविधानको परिधिमा रहेर संघीयता र लोकतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि मधेश प्रदेशसभाले खेल्नुपर्ने भूमिकामा आफू प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा सभामुख यादवले मधेश प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूलाई डटपेन र डायरी प्रदान गर्दै गम्छा र फूलमालासहित सम्मान गरेका थिए ।
सोही अवसरमा मधेश प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले मुलुकमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । समाजमा विद्यमान विकृति, विसंगति र अन्यायका विरुद्ध कलम चलाउन सञ्चारकर्मीहरूलाई उनले आग्रह गरे ।