प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलहरूले बन्द सूची पेस गर्ने आजको कार्यतालिकाअनुसार निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सार्वजनिक कार्यतालिकाबमोजिम आज र भोलि गरी दुई दिनसम्म राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्द सूची आयोगमा बुझाउन सक्नेछन् ।
आयोगका अनुसार पुस १३ र १४ गते पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म औपचारिक छानबिन गरिनेछ । छानबिनपछि पुस २१ देखि २७ गतेसम्म बन्द सूचीमा देखिएका त्रुटि सच्याउन दलहरूलाई समय दिइने कार्यतालिका तय गरिएको छ ।
त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म संशोधित सूची नियमअनुसार भए–नभएको पुनः परीक्षण गरिने आयोगले जनाएको छ । आयोगका अनुसार माघ ४ गते प्रारम्भिक बन्द सूची सार्वजनिक गरिनेछ भने माघ २० गते अन्तिम बन्द सूची प्रकाशन गरिनेछ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिस्पर्धा गर्न हालसम्म १०० वटा राजनीतिक दल दर्ता भएका छन्, जसले ९३ वटा निर्वाचन चिह्न प्रयोग गर्नेछन् ।
समानुपातिक प्रणालीमा सहभागी हुन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले मात्रै आज र भोलि बन्द सूचीमा उम्मेदवारको नाम पेस गर्न पाउने स्पष्ट गरिएको छ ।
आयोगले तोकिएको समयसीमा र कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सबै राजनीतिक दललाई आग्रहसमेत गरेको छ ।