देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रभावका कारण तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ । बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो यथावत् रहनेछ । पहाडी र हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ । यस क्रममा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु कायम रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा देखिएको हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।