धनुषाको शहीदनगर नगरपालिकाका स्थानीय युवाहरूले पालिकामा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको माग गर्दै संगठित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘हामी युवा’ नामक संस्था गठन गरी युवाहरूले नगरपालिकामा देखिएको बेथिति र अनियमितताविरुद्ध अभियान चलाउँदै पुष २० गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा युवाहरूले लामो समयदेखि उठाउँदै आएका मागलाई नगरपालिकाले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नु परेको बताएका छन् ।
उनीहरूको अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद तथा समग्र नगर विकाससँग सम्बन्धित विषय समेटेर यसअघि नै नगरप्रमुख समक्ष २७ बुँदे माग प्रस्तुत गरिएको थियो । २०८२ साल कार्तिक २३ गते बुझाइएको ध्यानाकर्षण पत्रमार्फत नगरपालिकाको प्रशासनिक पारदर्शिता, आर्थिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न सुझाव र माग राखिएको थियो ।
तर, नगरप्रमुखले युवाहरूको मागलाई ‘हावादारी’ भन्दै गम्भीर रूपमा नलिएको आरोप उनीहरूले लगाएका छन् । ‘हामीले उठाएका माग व्यक्तिगत स्वार्थका लागि होइनन्, नगरको सुशासन र नागरिकको अधिकार सुनिश्चित गर्नका लागि हुन्,’ युवाहरूका तर्फबाट अरुण यादवले बताए ।
युवाहरूले नगरपालिकाले जनताको करबाट आउने बजेट र निर्णयहरू लुकाएर राख्दा शंका बढेको भन्दै अब दबाबमूलक कार्यक्रम अपरिहार्य भएको बताएका छन् । उनीहरूको मागमा नगरपालिकाको रेडबुक सार्वजनिक गर्नु, नगर कार्यपालिकाको बैठकका निर्णयहरू नियमित रूपमा सार्वजनिक गर्नु, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण नगरपालिकाको वेबसाइटमा राख्नु, प्रत्येक वडामा नियमित सरसफाइको व्यवस्था, शिक्षक दरबन्दी र विद्यार्थी संख्या लगायत शैक्षिक तथ्यांक सार्वजनिक गर्नु, र सबै वडामा खेलकुद मैदान निर्माण गर्नु समावेश छ ।