बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीमा निर्भर हुन थालेका छन् ।
अत्यधिक चिसो, कुहिरो र शीतलहरबीच बिहानैदेखि उनीहरू जंगल तथा सामुदायिक क्षेत्रबाट दाउरा संकलन गरी साइकलमा बोकेर स्थानीय बजारमा लगेर बिक्री गर्ने गरेका छन् । स्थानीय बजार, चोक र टोलमा दाउरा बोकेका साइकलको लाम देखिनु यहाँका लागि सामान्य दृश्य हो ।
वैकल्पिक रोजगारीको अभाव र बढ्दो महँगीका कारण गरिब परिवारका सदस्यहरूले चिसोको पर्वाह नगरी दाउरा संकलन गरी बिक्री गर्ने गरेका छन् । यसरी संकलन गरिएका दाउरा छ सयदेखि हजार रुपियाँसम्मको भारी बिक्री हुने गरेको कोल्हवी नगरपालिका–१० का सुमन चौधरीले बताए ।
दाउरा बिक्रीबाट आएको थोरै आम्दानीले उनीहरूले खाद्यान्न, नुन, तेल र बालबालिकाको न्यूनतम खर्च चलाउने गरेका छन् । कोल्हवी र करैयामाइ क्षेत्रका अधिकांश दाउरा विक्रेता भूमिहीन, सुकुम्बासी तथा दैनिक ज्यालादारीमा निर्भर परिवारका सदस्य रहेका छन् । करैयामाइ गाउँपालिका–६ का स्थानीय दाउरा विक्रेता बिगनप्रसाद तेलीले भने, “जाडोमा दाउराको माग बढ्छ, यही बेला दाउरा बेचेर घरखर्च चलाउनुपर्छ ।”
एक साइकल दाउराको भारी ल्याउन कम्तीमा दुई दिन लाग्ने, चिसोमा लामो दूरी साइकल चलाउँदा स्वास्थ्य जोखिम बढ्ने र वन गस्ती टोलीबाट साइकल र बन्चरो खोसिने समस्या रहेको उनले बताए ।
सरोकारवालाले विपन्न समुदायका लागि जाडोमा राहत, वैकल्पिक रोजगारीका कार्यक्रम र सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको महागढीमाइ नगरपालिका–३ का रामबाबुप्रसाद जैसवालले बताए । चिसो बढ्दै गएसँगै दैनिकी झन् कठिन बन्दै गएको यस क्षेत्रका गरिब समुदायका लागि राज्यका सम्बन्धित निकाय तथा स्थानीय सरकारको सहकार्य र सहयोग अपरिहार्य देखिएको स्थानीयहरूको भनाइ छ ।