वीरगंज | पद र पावरको दुरुपयोग गरी मेयर राजेशमान सिंहले अर्काको छोरीलाई आफ्नो भनी सरकारी कागजात किर्ते गरेर नागरिकता बनाएको आरोपमा उच्च अदालत वीरगंज इजलाशले पर्सा प्रहरीको नाममा रिट जारी गरेको छ ।
मुलुकी फैजदारी संहिता अन्तर्गत २५ दिनभित्र प्रहरीले मेयर विरूद्धकाे नागरिकता किर्ते र सरकारी कागजात किर्तेमा अनुसन्धान गरि अदालतमा पेश गर्नुपर्ने हुन्छ । त्यसपछि पहिल्यै जाहेरी दर्ता भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाउँछ, सम्भवत अनुसन्धानमा विलम्ब भएकाले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न सक्छ । त्यस किसिमकाे संलग्नता देखियाे भने पक्राउ गर्न सक्ने एक अधिवक्ताले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सासँग अनुसन्धान सम्बन्धी चौथौं पटक जवाफ माग गरिसकेको अवस्थामा आजको पेशीमा अदालतले रिट जारी गरेको हो । दुई वर्षदेखि मेयर सिंहको किर्ते मुद्दामा पर्सा प्रहरीले अनुसन्धान नगरी ढिला गरिरहेको थियो । यस अवधिमा चार पटक प्रहरी उपरीक्षक फेरिएका थिए ।
यो मुद्दा २०८० साल पुसमा वीरगंजका पत्रकार जियालाल साहले मेयर सिंहले गरेको किर्ते नागरिकताको खुलासा गरेका थिए । उल्टै मेयर सिंहले समाचार लेखेकै आधारमा पत्रकार साहमाथि साइबर क्राइम, गाली–बेइज्जति, लिखित बेइज्जति र अदालतको मानहानी मुद्दा लगाएका थिए ।
२०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएको बेलामा तत्कालिन प्रहरी उपरीक्षक कोमल साह थिए । त्यसपछि इन्काउन्टर स्पेशलिष्ट कुमोद ढुंगोल, गौतम मिश्रा र हाल सुदिप राज पाठक पर्सामा कार्यरत छन् । उनीहरूको कार्यकालमा समेत मेयर सिंहको किर्ते मुद्दामा अनुसन्धान अघि बढ्न सकेको थिएन ।
उच्च अदालतले जारी गरेको आदेशले मेयर सिंहले गरेको किर्ते नागरिकताको अनुसन्धानको बाटो खुलेको छ । पद र पावरको बलमा पूर्वमा जेन–जीको सरकार अघि हरेक गृहमन्त्री र प्रधानमन्त्रीसँग भेटघाट गर्ने सक्ने मेयर सिंह हाल आफ्नो मुद्दा र कानुनी दबाबका कारण प्रधानमन्त्री वा गृहमन्त्रीसँग भेट्न असमर्थ रहेका छन् ।