सर्लाहीको सागरनाथ वन परियोजनामा कार्यरत एक चौकीदारको हत्या भएको घटना सार्वजनिक भएको छ ।
शनिबार साँझ चौकीदार मृत अवस्थामा फेला परेपछि जिल्लामा सनसनी मच्चिएको छ । सर्लाही प्रहरीले परियोजनामा खटिएका चौकीदार रामेश्वर महतोको शव शंकास्पद अवस्थामा फेला परेको जनाएको छ । प्रहरी प्रवक्ता सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट चौकीदारमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको छ ।
घटनास्थलबाट एक थान बन्चरो बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाको प्रकृति गम्भीर रहेकाले प्रहरीले सूक्ष्म तथा गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन विशेष तालिम प्राप्त प्रहरी कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ । चौकीदार रामेश्वर महतो सर्लाहीको ईश्वरपुर नगरपालिका–२ का बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।