मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेस कुनै एक धर्म वा समुदायको मात्र नभई सबै जाति, भाषा र आस्थाका नागरिकको साझा पहिचान भएको बताएका छन् ।
विविधताभित्रको एकता नै मधेसको वास्तविक शक्ति भएको उल्लेख गर्दै उनले आपसी विभाजनले समाज, राज्य र नागरिक सबैलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।
पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनात्मक गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले हिंसाको बाटो कहिल्यै समाधानको माध्यम बन्न नसक्ने स्पष्ट पारे ।
धर्मका नाममा फैलाइने घृणा, द्वेष र उक्साहट सभ्य समाजका लागि स्वीकार्य नहुने उनको भनाइ छ । यस्ता गतिविधिले सामाजिक सद्भाव बिगार्नुका साथै सम्पूर्ण समाजलाई अस्थिर बनाउने उनले बताए ।
प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले शान्ति–सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।
अफवाह फैलाउने तथा समाजमा घृणा र विभाजन सिर्जना गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन् ।
मुख्यमन्त्री यादवले धर्मगुरु, राजनीतिक दल, युवा वर्ग र सचेत नागरिकलाई संयमता अपनाउँदै संवाद, सहिष्णुता र सहअस्तित्वको संस्कृतिलाई मजबुत बनाउन आग्रह गरेका छन् ।
समस्या समाधानको दीगो र प्रभावकारी उपाय संवाद नै भएको उल्लेख गर्दै उनले द्वन्द्व र हिंसाले कहिल्यै सकारात्मक परिणाम नदिने धारणा व्यक्त गरे ।
पछिल्लो समय भएका क्षति र विध्वंसप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री यादवले मधेस सधैं शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीकका रूपमा स्थापित रहने प्रतिबद्धता दोहोर्याएका छन् । साथै, सामाजिक एकता जोगाउन सबैलाई साझा जिम्मेवारी निर्वाह गर्न आह्वान गरेका छन् ।