जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको हाे । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नआउँदासम्म संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा लागू गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पाइने छैन । प्रशासनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा लगाएकाे हाे । निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेट रहेका छन् ।
प्रशासनले तोकिएको सिमानाभित्र आदेशको उल्लङ्घन गर्ने जो-कोहीलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।