नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको ‘मुनाल’ उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकता (AI) मा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ ।
उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिनेछ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रविन्द्रप्रसाद ढकालका अनुसार ‘मुनाल’ उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) को ‘एसएलभी–C62’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान १०:१७ बजे (भारतीय समय) अर्थात् नेपाल समयअनुसार १०:३२ बजे प्रक्षेपण गरिनेछ ।
यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट हुने उनले जानकारी दिए ।