प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न गण्डकी प्रदेशभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आन्तरिक प्रतिस्पर्धा बढ्न थालेको छ । रास्वपाबाट उम्मेदवार बन्न इच्छुकहरूले अनलाइनमार्फत आवेदन दिएका छन् भने उम्मेदवार छनोट प्रक्रिया भने अझै सुरु भइसकेको छैन ।
रास्वपा स्रोतका अनुसार उम्मेदवार छनोट प्रक्रिया सुरु हुनु अघि सिट बाँडफाँटबारे छलफल भइरहेको छ । विशेषगरी हालै एकता प्रक्रियामा आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह समूहलाई गण्डकीमा कति सिट दिने भन्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।
गण्डकी प्रदेशमा प्रतिनिधि सभाका १८ सिटमध्ये एउटा सिटमा रास्वपाले उम्मेदवारी नदिने तयारी गरेको छ भने बाँकी १७ सिटमध्ये बालेन समूहले करिब एक तिहाइ, अर्थात् ८ सिटमा दाबी गरेको छ ।
यसैबीच ‘जेन–जी’ अभियन्ता सुदन गुरुङले गोरखा–१ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सो क्षेत्रमा रास्वपाले आफ्ना उम्मेदवार नउतारी उनलाई सघाउने विषयमा आन्तरिक छलफल भइरहेको रास्वपाका एक नेताले बताए । ‘उहाँ पार्टीको आधिकारिक उम्मेदवार होइन, तर उम्मेदवारी दिएमा सहयोग गर्ने तयारी भइरहेको छ,’ ती नेताले भने ।
बालेन समूहले गण्डकीका दुई निर्वाचन क्षेत्र भएका जिल्लाबाट एक–एक सिट र एक मात्रै निर्वाचन क्षेत्र भएका तीन जिल्लाबाट सिट लिने गरी ८ सिटमा दाबी गरेको बालेन निकट स्रोतले जनाएको छ । तर कुन–कुन क्षेत्र लिने भन्ने टुंगो लागिसकेको छैन ।
कास्की–१ मा बालेन समूहको विशेष दाबी रहेको छ । सो क्षेत्रबाट केन्द्रीय सदस्यसमेत रहेका खड्कराज पौडेल (गनेस) को उम्मेदवारी लगभग निश्चित रहेको बताइएको छ । केन्द्रमा पार्टी एकता भइसके पनि तल्लो तहसम्म समायोजन प्रक्रिया भने अझै टुंगिएको छैन ।
रास्वपाका सदस्यहरूले अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएका छन् भने बालेन समूहबाट सिफारिस हुने उम्मेदवारहरूको सूची गनेसले तयार गरिरहेका छन् । ‘सबै क्षेत्रबाट नाम आएको छ, तर कुन क्षेत्र पाउने भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने, ‘हामी बहुमत ल्याउने लक्ष्यसहित चुनावमा जाँदैछौँ । जसको जित्ने सम्भावना बढी छ, उसैलाई टिकट दिने योजना छ ।’
उनका अनुसार उम्मेदवार छनोटमा बालेन समूह र रास्वपा भनेर विभाजन गरिने छैन । ‘बालेन समूहबाट सिफारिस भएको उम्मेदवार जित्ने देखिए उसैलाई टिकट दिने र पार्टीबाट सिफारिस भएकाले जित्ने देखिए उसैलाई दिने रणनीति हो,’ उनले स्पष्ट पारे ।
रास्वपाले गण्डकीका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार आकाङ्क्षीको नाम सङ्कलन गरिसकेको छ । आन्तरिक मूल्याङ्कनअनुसार पार्टीले गण्डकीबाट ८ देखि १२ सिट जित्ने सम्भावना रहेको रिपोर्टिङ गरेको छ ।
रास्वपाले तनहुँ–१, नवलपुर–१, गोरखा–२ र स्याङ्जा–१ जस्ता क्षेत्रमा हेभिवेट उम्मेदवार उतार्ने तयारी गरेको छ । ती क्षेत्रबाट क्रमशः उपसभापति स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रदेश सभापति राजन गौतम र धनञ्जय रेग्मीलाई टिकट दिने तयारी भइरहेको छ । यद्यपि यी क्षेत्रहरूमा अन्य नेताहरूले पनि उम्मेदवारी आकाङ्क्षा व्यक्त गरिरहेका छन् ।
तल्लो तहको समायोजन प्रक्रिया बाँकी रहे पनि बालेन समूह पार्टीका आन्तरिक गतिविधिमा सहभागी हुन थालेको छ । पार्टीभित्र यसअघि नै सक्रिय रहेका केही नेताहरू आन्तरिक प्रतिस्पर्धामा टिकट नपाउने सम्भावना देखेर बालेन समूहबाट सिफारिस गराउन प्रयासरत छन् । उम्मेदवार बन्ने आकाङ्क्षी बढेसँगै गण्डकीमा रास्वपाभित्र आन्तरिक प्रतिस्पर्धा झनै चर्किने देखिएको छ ।