राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने तयारी गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मन्त्री खरेलले राजीनामा दिएपछि उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी भएको रास्वपा स्रोतले जनाएको छ ।
रास्वपा स्रोतका अनुसार, “खरेलले सरकारबाट राजीनामा दिएर आए भने हामी उनलाई उम्मेदवार बनाउन तयार छौं ।”
केही दिनअघि मन्त्री खरेलले आफू प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन इच्छुक रहेको बताएका थिए, तर कुन पार्टीबाट उम्मेदवार बन्ने भन्ने विषय भने खुलाएका थिएनन् ।