नेपाली कांग्रेसका १० जना वरिष्ठ नेताहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनीहरूले सार्वजनिक रूपमा निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् ।
अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा प्रमुख छन् । उनी २०७४ सालमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनले अब पार्टीको संगठनात्मक काममा केन्द्रित हुने बताएका छन् ।
त्यस्तै पूर्वमन्त्रीहरू हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू र डा. नारायण खड्काले पनि विज्ञप्ति जारी गर्दै निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनीहरू पटक–पटक प्रत्यक्ष निर्वाचन जितेका अनुभवी नेताहरू हुन् ।
बलबहादुर केसीले आफ्नै जिल्लाका सबै नेताहरूको उपस्थितिमा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
काभ्रेका नेता शिव हुमागाईले डा. शेखर कोइराला समूहले आइतबार काठमाडौँमा गरेको भेलामा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
जेनजी आन्दोलनको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा — तीनै तहमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । गृहजिल्ला बाजुरा पुगेर उनले आफू उम्मेदवार नहुने बताएका हुन् । पाण्डे २०७९ को चुनावमा बाजुराबाट निर्वाचित भएका थिए ।
पाण्डेले जेनजी आन्दोलनका क्रममा सरकारमा रहेकाले युवाहरूका मागहरू समयमै सम्बोधन गर्न नसकेको अनुभूति भएकाले निर्वाचन नलड्ने निर्णय गरेको बताएका छन् । यसअघि उनी राष्ट्रियसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्यसमेत थिए ।
काठमाडौँ क्षेत्र नम्बर १० बाट लगातार तीनपटक निर्वाचित भएका राजेन्द्रकुमार केसीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रियसभामा कतैबाट पनि उम्मेदवारी नदिने उनको भनाइ छ । पार्टी रूपान्तरण र पुस्तान्तरणको नेतृत्व आफैंबाट गर्ने उद्देश्यले यस्तो निर्णय गरेको उनले बताएका छन् । केसी २०७०, २०७४ र २०७९ मा काठमाडौँ–१० बाट निर्वाचित भएका थिए ।
अर्का नेता जिपछिरिङ लामा पनि गृहजिल्ला दोलखाका नेता तथा कार्यकर्ताबीच निर्वाचन नलड्ने घोषणा गरेका छन्। उनी २०६४ सालको पहिलो संविधानसभामा सदस्य थिए ।
पूर्व कृषिमन्त्री तथा धादिङ कांग्रेस सभापति रामनाथ अधिकारीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । जेनजी आन्दोलनका क्रममा मन्त्री रहेका अधिकारीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए । अधिकारी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा धादिङ–२ बाट निर्वाचित भएका थिए ।