निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरू २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन् । आयोगको कार्यतालिकाअनुसार सबै दल प्रत्यक्षतर्फ १६५ सिटका लागि उम्मेदवार छनोटमा व्यस्त छन् । कतिपय दलले उम्मेदवार टुंगो लगाइसकेका छन् भने केही दल अन्तिम चरणमा पुगेका छन् । आयोगले उम्मेदवार मनोनयन दर्ताको समयसीमा भोलिका लागि तोकेको छ ।
समानुपातिकतर्फ ११० सिटका लागि दलहरूले १३ र १४ मंसिरमै उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । पछिल्लोपटक विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसमा देखिएको विवाद टुंग्याउँदै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन कार्यसमितिलाई आधिकारिकता दिएपछि सभापति गगन थापाको नेतृत्वमा कांग्रेस पनि उम्मेदवार छनोटमा जुटिसकेको छ ।
निर्वाचन आयोगले मतपत्र छपाइ, निर्वाचन कार्यालय स्थापना तथा मुख्य र निर्वाचन अधिकृत तोकिसकेको छ । मतदाता सूची, मतदानस्थल र मतदान केन्द्रको टुंगो लगाएर जिल्ला–जिल्लामा पठाइसकेको आयोगले आजदेखि आचारसंहिता पनि लागू गरिसकेको छ ।
यता सरकारले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन र जनशक्ति परिचालनलाई तीव्र बनाएको छ । निर्वाचन सुरक्षाका लागि करिब डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्न खुलाइएको आवेदनमा करिब दुई लाख दरखास्त परेका छन् । आजदेखि निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु गरिएको छ । ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले तोकिएको कोटाअनुसार निर्वाचन प्रहरी भर्ना गर्नेछन् ।
केन्द्रीय सुरक्षा समितिले सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरिसकेको छ । नेपाल प्रहरीले निर्वाचन सुरक्षालाई केन्द्रित गर्दै ठूलो संख्यामा सुरक्षा अधिकारीको सरुवा गरिसकेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा गोष्ठीबाट आएका सुझावका आधारमा निर्वाचन सुरक्षा रणनीति तय गरिएको जानकारी दिए ।
आसन्न निर्वाचनमा समानुपातिकतर्फ ५८ दल र प्रत्यक्षतर्फ ११४ दल सहभागी हुँदैछन् । निर्वाचनमा १ करोड ९० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अनुमान छ ।
प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन आयोगले पटक–पटक छलफल गरिसकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “दलहरूले समानुपातिकको बन्दसूची बुझाइसकेका छन्, प्रत्यक्षतर्फ उम्मेदवार छनोट भइरहेको छ । सरकार पनि सुरक्षा व्यवस्थापनमा सक्रिय छ, जसले सिंगो देश निर्वाचनमय बनेको छ ।”
४ हजारभन्दा बढी मतदानस्थल अति संवेदनशील
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ११ हजार ९०१ मतदान केन्द्र तोकेको छ। केन्द्रीय सुरक्षा समितिले सुरक्षाका आधारमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरेको छ । तीमध्ये करिब एक तिहाइ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । ४ हजार ४४२ मतदानस्थल संवेदनशील र २ हजार ८४५ मतदानस्थल सामान्य सूचीमा राखिएका छन् ।
सुरक्षा चुनौतीअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तैनाथी गरिनेछ । १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी सुरक्षामा परिचालित हुनेछन् । खुला सीमा, सामाजिक सञ्जालको दुरुपयोग, जेन–जी आन्दोलनपछिको परिस्थिति र राजनीतिक प्रतिस्पर्धालाई मुख्य सुरक्षा चुनौतीका रूपमा किटान गरिएको गृह मन्त्रालयले जनाएको छ ।
डिजिटल माध्यम निगरानी गर्न साइबर प्रहरी
निर्वाचनमा अफवाह, फेक अकाउन्ट र साइबर अपराध नियन्त्रण गर्न साइबर प्रहरी परिचालन गरिनेछ । गृह मन्त्रालयका अनुसार डिजिटल माध्यमबाट हुने भ्रामक प्रचार नियन्त्रण, तथ्यहीन सूचना रोकथाम र मतदाताको गोपनीयता सुनिश्चित गर्न साइबर प्रहरी टोली केन्द्रीय, प्रदेश र जिल्ला तहमा परिचालन हुनेछ ।