प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी उल्लेखनीय संख्यामा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा एमालेबाट रामेश्वर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपकबहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टीबाट विजय गौतम र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट तेजप्रसाद उप्रेती उम्मेदवार बनेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाश गौतम, जनता समाजवादी पार्टी (जसपा)बाट दीपक सिन्तान, नेकपा माओवादी केन्द्रबाट महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट युवराज लामा, नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल मगजु, जसपा नेपालबाट रुपक लामा, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन तथा उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामाले पनि उम्मेदवारी दिएका छन् ।
सो क्षेत्रमा स्वतन्त्रतर्फ अमर दंगाल, अमिक परियार, टीकाप्रसाद चौलागाईं, प्रमिला कुमारी खतिवडा, मिठु कुमारी मगर, राकेशकुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञानसागर लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
मकवानपुर–१ मा मुख्य प्रतिस्पर्धीका रूपमा कांग्रेसकी डिना, एमालेका राना र राप्रपाका सिंह देखिएका छन् । २०७९ सालको निर्वाचनमा राप्रपाका सिंह विजयी हुँदा कांग्रेसकी डिना दोस्रो स्थानमा सीमित भएकी थिइन् । त्यतिबेला एमालेका उम्मेदवार रामेश्वर रानाले उम्मेदवारी दर्तासमेत गर्न नपाएको इतिहास छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रानाको टिकट खोसेर राप्रपा नेपालका कमल थापालाई एमालेकै चुनाव चिह्न दिएर उम्मेदवार बनाएका थिए । यद्यपि थापा तेस्रो स्थानमै सीमित भएका थिए ।
यसपटक कमल थापाले मकवानपुर छाडेर काठमाडौं क्षेत्रबाट उम्मेदवारी दिएका छन् । राप्रपाका सिंह भने मकवानपुर–१ मा आफ्नो प्रभाव कायम रहेको दाबी गर्दै पुनः चुनावी मैदानमा उत्रिएका छन् ।
एमाले उम्मेदवार रामेश्वर राना २०६४ सालमा तत्कालीन मकवानपुर–४ बाट पराजित भए पनि पार्टीभित्र त्यागी र इमानदार नेताका रूपमा परिचित छन् । एमालेले यसपटक बलियो संगठनसँगै रानाको सादगी र भद्र स्वभावलाई मुख्य चुनावी अस्त्र बनाएको छ ।
कांग्रेस उम्मेदवार डिना २०४८ सालदेखि निरन्तर रूपमा प्रत्यक्ष तथा समानुपातिक सूचीमार्फत चुनावी राजनीतिमा सक्रिय रहँदै आएकी छन् । उनी दुई पटक समानुपातिक सांसद र जलस्रोत राज्यमन्त्री भइसकेकी छन् । यद्यपि प्रत्यक्षतर्फको प्रतिस्पर्धामा भने उनी अहिलेसम्म सफल हुन सकेकी छैनन् ।
राप्रपाका सिंह पञ्चायतकालमा हेटौंडा नगर पञ्चायत तथा जिल्ला विकास समितिमा जिम्मेवारी सम्हालेका अनुभवी नेता हुन् । स्थानीयस्तरमा बलियो पकड बनाएका सिंह विकास र सुशासनको एजेन्डा लिएर चुनावी मैदानमा छन् । २०७९ पछि उनी जलस्रोत राज्यमन्त्री तथा पूर्वाधार विकास समितिको सभापति समेत बनेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीले युवा उम्मेदवार विजय गौतमलाई मैदानमा उतारेको छ । माओवादी पृष्ठभूमिका गौतम विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । दुई विषयमा स्नातकोत्तर गरेका उनी पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनको सचिवालयमा काम गरेको अनुभव पनि गौतमसँग छ ।
यस्तै, प्रलोपा उम्मेदवार तेजप्रसाद उप्रेती नयाँ तथा युवा अनुहार हुन् । रास्वपाबाट उम्मेदवार बनेका व्यवसायी प्रकाश गौतम पनि पहिलो पटक चुनावी मैदानमा होमिएका छन् । तर टिकट वितरण प्रक्रियालाई लिएर रास्वपाभित्र असन्तुष्टि देखिएको छ । केन्द्रीय सदस्य विन्दवासिनी कंशाकारको टिप्पणी र जिल्ला नेतृत्वलाई जानकारी नदिई टिकट वितरण गरिएकाले आन्तरिक विवाद चर्किएको बताइन्छ ।
यस क्षेत्रमा श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ महर्जन र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले पनि पुराना दलका उम्मेदवारलाई चुनौती दिने देखिएको छ । धेरै पुराना र नयाँ अनुहारबीचको प्रतिस्पर्धाले मकवानपुर–१ को चुनावी मैदान रोचक बनेको छ ।