नेपाली कांग्रेसमा विशेष महाधिवेशनमार्फत सभापति चयन भएका गगन थापाले पार्टी केन्द्रीय कार्यालय, सानेपामा जानेबारे आज छलफल गर्दैछन् । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए ।
पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र तत्कालीन डा. शेखर कोइराला नेतृत्वको समूहले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएपछि थापाले पार्टी कार्यालयमा प्रवेश गर्न सकेका थिएनन् ।
निर्वाचन आयोगले थापालाई आधिकारिकता दिएको छ भने सर्वोच्च अदालतले पनि देउवा समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि थापाले अब पार्टी कार्यालयमा जानेबारे छलफल सुरु गरेका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी कार्यालयमा जानेबारे आज छलफलको तयारी भइरहेको जानकारी दिँदै भने, “जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा क्षति पुगेको र मर्मत भइरहेको थियो, त्यसैले हतार नगरी बसेका थियौं । अब सभापति लगायत नेताहरूसँग छलफल गरी जानुपर्छ ।”