जिल्ला प्रशासन कार्यालय, बर्दियाले नजिकैको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा माघ मसान्तभित्र हात–हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हात–हतियारधारीलाई आफ्ना बन्दुक, राइफल, रिभल्वर, पिस्तोल लगायत गोली गट्ठा समयमै बुझाउन भनिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, अवाञ्छित गतिविधि, हिंसा, डरत्रास वा हतियार दुरुपयोगको सम्भावना न्यूनीकरण गर्न यो कदम चालिएको हो । बुझाइएको हतियारको भर्पाई (रसिद) अनिवार्य रुपमा प्रदान गरिने व्यवस्था गरिएको छ ।
निर्वाचन सम्पन्न भएपछि चैत्र २० गते सम्बन्धित धनीले उपस्थित भएर रसिदको आधारमा हतियार फिर्ता लिन सक्नेछन् ।
प्रमुख जिल्ला अधिकारी गगन बहादुर हमालले तोकेको समयमा हतियार नबुझाए प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी पनि दिएका छन् ।