पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै गुप्ताको निवेदन सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
यसअघि सर्वोच्च अदालतले गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने शर्तमा घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो ।
गुप्ताले अदालतमा बयान दिँदा आफूमाथि लागेको आरोप झूटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए । तर अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा उनलाई निर्दोष ठहर गर्न नसकिने ठहर गरेको थियो ।