अमेरिकाले ८० जना नेपाली नागरिकलाई चाटर्ड विमानमार्फत काठमाडौं डिपोर्ट गरेको छ । अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएका व्यक्तिहरूमध्ये १ जना महिला र ७९ जना पुरुष रहेका छन् ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट भएकाहरूमा आवश्यक कागजात नपुगेका, गैरकानुनी रूपमा अमेरिका बसोबास गरेका तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका नेपाली नागरिकहरू रहेका छन् ।
डिपोर्ट भएर आएका सबैलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो। ब्युरोका अधिकारीहरूले उनीहरूसँग सोधपुछ गरेपछि सम्बन्धित परिवारको जिम्मा लगाइएको जनाइएको छ । साथै, कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको भए त्यसविरुद्ध उजुरी दिन ब्युरोले डिपोर्ट भएकाहरूसँग अनुरोध गरेको छ ।
यसअघि पनि अमेरिकाले विभिन्न चरणमा नेपाली नागरिकहरूलाई डिपोर्ट गर्दै आएको छ । पछिल्ला दिनमा अध्यागमन कानुन कडाइ भएसँगै डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दै गएको देखिएको छ ।