नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासीहरू पछिल्लो समय डराउन थालेको बताएका छन् । बुधबार राष्ट्रिय युवा संघ, क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर–५ झापाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले केही स्थानीय सुकुम्बासीहरू आफूहरूसँग भय व्यक्त गरिरहेको बताए ।
“सुकुम्बासी साथीहरूले भन्छन्— सुकुम्बासी बस्ती भत्काउने अरे, डोजर लगाउने अरे । को–को मान्छे आएका छन् भनेर डर लाग्यो,” ओलीले भने ।
अध्यक्ष ओलीले नयाँ शक्तिका नाममा भोट हाल्दा परिणाम के हुन्छ भन्ने कुरा २०६४ सालमै पुष्टि भइसकेको दाबी गरे । “२०६४ देखि अहिलेसम्म न त विकासको एउटा सिन्का भाँचियो, न त जनतासँग सम्पर्क नै रह्यो । नयाँको स्वाद यति तीतो र अमिलो भयो कि न जिब्रो पखाल्दा जान्छ, न अरू केही गर्दा,” उनले टिप्पणी गरे ।
नयाँ भन्नेबित्तिकै भोट दिन नहुने भन्दै ओलीले मतदातालाई सचेत रहन आग्रह गरे । “बैंकले नोट छाप्दा पनि धितोबिना छाप्दैन । तर मान्छेलाई भोट हाल्दा के खोज्नुहुन्छ? घर देख्नुभएको छ? काम देख्नुभएको छ?” उनले प्रश्न गरे ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई संकेत गर्दै ओलीले झापामा उनले गर्ने कुनै काम नै नरहेको दाबी गरे । “राष्ट्रियस्तरको भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्नुहुन्छ? उहाँको घरअगाडिको बाटो मैले पक्की बनाइदिएको हुँ । महोत्तरीको मटिहानीदेखि जनकपुर जाने बाटोमा पुल पनि हामीले हालिदिएका हौँ,” उनले भने ।
एमालेले नै विकासका काम गरेर देखाएको दाबी गर्दै ओलीले भने, “हामी काम गर्छौं । तर कुनै काम नगरेको, केही देखाउन नसक्नेहरू नयाँका नाममा आएका छन् ।”