चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोडभन्दा बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल गरी कुल ९ अर्ब ७७ करोड २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् ५.६ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ५.७ प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सो अवधिमा ४ अर्ब ७२ करोड ६ लाख मूल्य पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।
त्यस्तै, ३ अर्ब २२ करोड ६५ लाख मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । एलपी ग्यासको आयात १२ हजार ८११ मेट्रिक टनमा एक अर्ब २४ करोड ७ लाख मूल्य रहेको छ । एटीएफ ४ हजार ११२ किलोलिटरमा ३७ करोड ९४ लाख मूल्य र मट्टितेल ९६४ किलोलिटरमा ९ करोड ५ लाख मूल्य बराबर आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।