आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–४ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४, खण्ड (च) को उल्लंघन गरी लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गर्दै घृणित अभिव्यक्ति दिएको र समाजमा भ्रम फैलाएको उजुरी आयोगमा परेको थियो । उजुरीमा तत्काल उम्मेदवारी खारेज गरी हदैसम्मको कारबाही गर्न मागसमेत गरिएको थियो ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीले भण्डारीलाई पठाएको पत्रमा भनिएको छ ।
“यहाँले नै बोलेको देखिने श्रव्य–दृश्य सामग्री प्राप्त भएको हुँदा यो पत्र लेखिएको हो । उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताको सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत रहेको ज्येष्ठ नागरिक, महिला, यौनिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच पुग्ने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार–प्रसार गर्न नहुने व्यवस्थाको प्रतिकूल हुने गरी अभिव्यक्ति दिनुभएको हो वा होइन? यदि दिनुभएको हो भने किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानुनबमोजिम कारबाही गर्नु नपर्ने हो?”
आयोगले पत्र प्राप्त भएको तीन दिनभित्र स्पष्ट जवाफ पेश गर्न भनेको छ ।