नेपाल र भारतबीच निकासी गरिने वस्तु गन्तव्यमा आइपुग्नु अगावै सूचना आदानप्रदान गर्ने विषयमा समझदारी भएको छ ।
हिजो भारतको नयाँदिल्लीमा भएको कार्यक्रममा नेपालतर्फ भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारततर्फ केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (CBIC) का अध्यक्ष विवेक चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रमुख व्यापारिक साझेदारबीच जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्न निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदानप्रदान गर्ने व्यवस्था रहँदै आएको छ । सो अभ्यासलाई आत्मसात् गर्दै नेपाल र भारतबीच पनि यसै उद्देश्यले समझदारीपत्रको मस्यौदा तयार गरिएको थियो ।
मस्यौदामाथि सरोकारवालासँग छलफल गरी अन्तिम रूप दिइएको समझदारीपत्र नेपाल सरकार (मन्त्रिपरिषद्)ले स्वीकृत गर्दै भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अधिकार प्रदान गरेको थियो ।
समझदारीपत्रले जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरण प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा लाग्ने समय घटाइ सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने, राष्ट्रिय कानुनअनुसार सीमाभित्र रहेर विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदानप्रदान गर्ने, प्राप्त सूचनाको प्रयोग केवल समझदारीपत्रअनुसार गर्ने, कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, र सहमति अनुसार नमूनाका रूपमा कार्यान्वयन गरी क्रमशः सबै वस्तुमा लागू गर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।