निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र देशभर सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनेछ । माघ महिनाभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरी फागुनको पहिलो हप्ताभित्र वितरण गरिने उनले जानकारी दिए ।
उनका अनुसार समानुपातिकतर्फ एक करोड ५० लाख मतपत्र छपाइ भइसकेको छ भने बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक ५१ मध्ये ३७ प्रकारका सामग्री सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरिएको बताए। बाँकी १४ प्रकारका सामग्री माघको तेस्रो हप्ताभित्र प्राप्त गरी चरणबद्ध रूपमा ढुवानी गरिने उनले बताए ।
साथै, गलत सूचना तथा अफवाह नियन्त्रण गर्न आयोगले निरन्तर काम गरिरहेको र सम्बन्धित नियमनकारी निकायसँग सहकार्य गरी कारबाही प्रक्रिया अघि बढाइएको पनि उनले उल्लेख गरे ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको नामावली प्रकाशनपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिनेछ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कुल ३ हजार ४८७ उम्मेदवारी दर्ता भइसकेको आयोगले जानकारी दिएको छ ।