छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि यसको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ ।
भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण देखिएपछि नेपालका सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा स्थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत लक्षण देखिएका यात्रुमाथि निगरानी भइरहेको जानकारी दिए । उनका अनुसार संक्रमणको आशंका भएका व्यक्तिको उपचारका लागि देशभरका अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ ।
निपाह भाइरस चमेरो, सुँगुर तथा संक्रमित व्यक्तिबाट सर्न सक्ने भन्दै प्रवक्ता बुढाथोकीले भने, “संक्रमण फैलिएको क्षेत्रबाट आएका व्यक्तिलाई केही समय क्वारेन्टाइनमा राख्ने र प्रत्यक्ष सम्पर्क नगर्न नागरिकलाई सचेत गराइएको छ ।”
केही दिनअघि महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई निपाह भाइरसका लक्षण देखिएका बिरामी तथा त्यस्ता लक्षणबाट मृत्यु भएका व्यक्तिको विवरण तुरुन्त जानकारी गराउन निर्देशन दिएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार निपाह भाइरस संक्रमित व्यक्तिमा ३ देखि १४ दिनभित्र लक्षण देखिन सक्छ। यस अवधिमा ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या लगायतका लक्षण देखिन सक्छन् । केही बिरामीमा मस्तिष्क सुन्निने समस्या पनि देखिन सक्छ ।
गम्भीर अवस्थामा बिरामीमा भ्रम, अत्यधिक थकान, सिजर तथा २४ देखि ४८ घण्टासम्म कोमामा पुग्ने अवस्था आउन सक्ने चिकित्सकहरूले बताएका छन् । डब्ल्युएचओका अनुसार यस रोगबाट मृत्यु हुने जोखिम ४० देखि ७० प्रतिशतसम्म रहेको छ ।
निपाह भाइरस कोरोना भाइरसजस्तै जोनोटिक भाइरस हो, जसले जनावरबाट मानिसमा सर्ने गर्दछ । तर, कोरोना भाइरसको तुलनामा निपाह भाइरस धेरै प्राणघातक मानिन्छ । संक्रमित जनावरको मासु सेवन गर्दा तथा चमेरोको सम्पर्कबाट यो भाइरस सर्ने जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् ।
निपाह भाइरस पहिलो पटक सन् १९९९ मा मलेसियामा पहिचान भएको थियो। त्यसबेला संक्रमित सुँगुरसँग सम्पर्कमा आएका मानिसमा श्वासप्रश्वास र मस्तिष्कसम्बन्धी समस्या देखिएको थियो ।
भारतको पश्चिम बंगालमा सन् २००१ मा निपाह भाइरसको महामारी फैलिँदा ६६ जना संक्रमित भएका थिए, जसमा ४५ जनाको मृत्यु भएको थियो। सन् २००७ मा पुनः फैलिएको महामारीमा पाँचै जना संक्रमितको ज्यान गएको थियो। त्यस्तै, सन् २०१८ मा केरलामा यस भाइरसबाट १७ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयले नागरिकलाई सतर्क रहन, भीडभाडबाट टाढा रहन तथा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।