स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुन रु ९ हजार २०० र चाँदी रु ३२० ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ४०० र चाँदी प्रतितोला रु छ हजार १९० मा कारोबार भएको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार १०० र चाँदी रु पाँच हजार ९२० मा कारोबार भएको थियो । त्यस्तै, मङ्गलबार सुन रु दुई लाख ८४ हजार ७०० र चाँदी रु पाँच हजार ८८० मा कारोबार भएको थियो ।
गत आइतबार सुन प्रतितोला रु दुई लाख ७८ हजार ८०० र चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार सुन रु दुई लाख ८२ हजार र चाँदी रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ९६० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।