निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक खातामार्फत गर्नुपर्ने र उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले त्यसअनुसार खाता सञ्चालन गर्न सहजीकरण गरिदिन आग्रह गरेको हो ।
निर्वाचन आचारसंहिताको दफा–१६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत खर्च गर्नुपर्ने उल्लेख छ । साथै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आचारसंहिताअनुसार २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत मात्र लिनुपर्ने व्यवस्था छ । यस्तै, कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिइएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्ने प्रावधान पनि राखिएको छ ।
राजनीतिक दलका नाममा प्राप्त सहयोग दलको बैंक खातामा र उम्मेदवारका नाममा प्राप्त सहयोग उम्मेदवारको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस व्यवस्थाले निर्वाचन अभियानको आम्दानी र खर्चलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने अपेक्षा निर्वाचन आयोगले गरेको छ ।