नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित ७ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरी त्यसका प्रस्तावक तथा समर्थक बनेको आरोपमा गजुरेलसहित सात जनालाई कारबाही गरिएको नेकपाले जनाएको छ ।
निष्कासित नेताहरूमा हरिबोल गजुरेलसँगै सिन्धुलीका महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।
सिन्धुली–२ मा पार्टीले केन्द्रबाट निर्णय गरी लेखनाथ दाहाललाई आधिकारिक उम्मेदवार बनाएको थियो । तर, हरिबोल गजुरेलको समर्थनमा महेश्वर दाहालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका थिए ।
यस विषयमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले हरिबोल गजुरेललाई उम्मेदवारी फिर्ता लिन पत्रमार्फत आग्रह गरेका थिए । उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नभएपछि शनिबार पार्टी नेतृत्वले कारबाहीको निर्णय सार्वजनिक गरेको हो ।
यसैगरी, दाङमा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएकोमा असन्तुष्ट रहेका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले उम्मेदवारी दिएका थिए । उनलाई पनि पार्टीबाट निष्कासन गरिएको छ ।