प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीका चारै क्षेत्रमा रोचक र चासोपूर्ण प्रतिस्पर्धा देखिएको छ । कतै काका–भतिजा आमनेसामने भएका छन् भने कतै पुरानो पार्टी छाडेर नयाँ दल खोलेर आफ्नै पूर्व अध्यक्षविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । कतै भने लगातार जित हात पारिसकेका उम्मेदवार चौथो जित निकाल्दै इतिहास रच्ने दाउमा छन् ।
सप्तरी क्षेत्र नम्बर–३ मा एमालेका ताराकान्त चौधरी र उनका भतिजा अमरकान्त चौधरी (रास्वपा) आमनेसामने भएको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका दिनेश कुमार यादव विजयी भएका थिए । यसपटक पनि यादव कांग्रेसबाट मैदानमा छन् भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रवेशले प्रतिस्पर्धा थप रोचक बनेको छ । यहाँ उपेन्द्र यादव, दिनेश कुमार यादव, ताराकान्त चौधरी, गजेन्द्र कुमार मण्डल र अमरकान्त चौधरीबीच मुख्य भिडन्त हुने अनुमान गरिएको छ ।
क्षेत्र नम्बर–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख प्रतिस्पर्धीका रूपमा छन् । अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी भएका उनलाई यसपटक चुनौती थपिएको छ । पूर्वमुख्यमन्त्री सतिष कुमार सिंह स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका छन् भने जनमत पार्टी छाडेर जनअधिकार पार्टी खोलेका शरद सिंह यादव पनि मैदानमा छन् । यस क्षेत्रबाट रास्वपा, जसपा नेपाल, कांग्रेस र अन्य दलका पनि उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
क्षेत्र नम्बर–१ मा नयाँ र पुराना नेताबीच कडा टक्कर हुने देखिएको छ । स्वाभिमान पार्टीबाट इ. सुमित साह, जनमत पार्टीका डा. जयकान्त राउत, कांग्रेसका रामदेव साह, एमालेका सुमनराज प्याकुरेल र रास्वपाकी पुष्पा चौधरी प्रमुख प्रतिस्पर्धी हुन् । अघिल्लो निर्वाचन विजयी भएका नवल किशोर साहका छोरा इ. सुमित साह नयाँ दलबाट उम्मेदवार बनेका छन् । उनले आफ्नो परिवारको विकास कार्यलाई जितको आधार बनाउने दाबी गरेका छन् ।
क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका पूर्वमन्त्री तेजुलाल चौधरी पुनः चुनावी मैदानमा छन् । लगातार चौथो जित निकाल्दै इतिहास रच्ने प्रयासमा रहेका चौधरीका पूर्व सहकर्मी सिताराम साह कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रबाट जसपा नेपालकी डा. बबी सिंह यादव, एमालेका बालकृष्ण चौधरी र नेकपाकी रुबी कर्ण पनि प्रतिस्पर्धामा छन् ।
कुल मिलाएर, काका–भतिजा, पुराना सहकर्मी, नयाँ दल र अनुभवी नेताबीचको भिडन्तका कारण सप्तरीका चारै निर्वाचन क्षेत्र अत्यन्तै चासोपूर्ण बनेका छन्। यसपटकको निर्वाचनले जिल्लाको राजनीतिक दिशानिर्देश निर्धारण गर्ने अपेक्षा गरिएको छ।