जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित स्थान खोज्दै सप्तरी क्षेत्र नम्बर–३ पुगेका छन् । चुनाव पिच्छे बारम्बार आफ्नो क्षेत्र परिवर्तन गर्दै आएका यादवले सप्तरी–३ मा उम्मेदवारी दर्ता गराएसँगै प्रचारप्रसार पनि सुरु गरिसकेका छन् ।
२०७४ को निर्वाचनमा उनी सप्तरी–२ बाट विजयी भएका थिए भने २०७९ मा त्यही क्षेत्रबाट पराजित भएका थिए । त्यसपछि बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेर संसद पुगेका यादवले अब फेरि सप्तरी–३ बाट चुनाव लड्ने तयारी गरेका छन् ।
२०७४ मा उनले सप्तरी–२ बाट २१,६२० मत ल्याएर विजय हासिल गरेका थिए । तत्कालीन राजपा नेपालको समर्थनले उनलाई सहयोग प्राप्त भएको थियो । त्यसबेला तत्कालीन माओवादीका नेता उमेश यादव दोस्रो स्थानमा थिए जसले ११,५८० मत पाएका थिए ।
यादवले यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट उम्मेदवारी दिएका थिए । मोरङबाट पराजित भए पनि २०६४ को संविधानसभा निर्वाचनमा मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजयी भएका यादवले पछि मोरङ छाडेर सुनसरी कायम गरेका थिए ।
हाल जसपा नेपालको संगठन सप्तरी–३ मा कमजोर रहेको स्थानीय विश्लेषकहरूले बताएका छन् । यादवले सप्तरी–२ मा थुप्रै विकास निर्माणका काम गरेका थिए र संगठन निर्माणमा त्यही क्षेत्रमा बढी ध्यान दिएका थिए। बारा–२ बाट चुनाव जितेपछि पनि उनको ध्यान सप्तरी–२ मा केन्द्रित थियो । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग कुरा नमिलेपछि यादव सप्तरी–३ सरेका हुन् ।
सप्तरी–३ मा २२ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट गत निर्वाचनमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका थिए भने एमालेका ताराकान्त चौधरी दोस्रो स्थानमा थिए ।
यस चुनावमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको मुख्य प्रतिद्वन्द्वीका रूपमा एमालेबाट ताराकान्त चौधरी र कांग्रेसबाट दिनेशकुमार यादव उम्मेदवार छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार अमरकान्त चौधरी पनि उपेन्द्र यादवका लागि चुनौतीको रूपमा रहेका छन्। अमरकान्त चौधरी २०७४ मा सोही क्षेत्रबाट चुनाव जितेका चन्द्रकान्त चौधरीका छोरा हुन् ।
स्थानीयहरूले बताएका अनुसार, “अहिले अमरकान्त शोकमा हुनुहुन्छ । उहाँलाई सहानुभूति मत पनि आउन सक्छ र बुबा चन्द्रकान्त चौधरीको कारण संगठन पनि बलियो छ । यसले उपेन्द्र यादवलाई चुनौतीपूर्ण बनाउँछ ।”
सप्तरी–३ मा पाँचवटा पालिका रहेका छन् । जसपा नेपाल–१ र लोसपा–१ गरी दुई पालिका जितेको छ । एमालेले दुई र नेकपा एस (हाल नेकपा)ले एक पालिका जितेका छन् । यस क्षेत्रको पहिलो जनसंख्या यादव समुदायको र दोस्रो थारु समुदायको रहेको छ । मधेसमा जातीय मत प्रभावशाली हुने भएकाले अमरकान्त चौधरी र उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।