जेनजी फ्रन्टले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि बालबालिकाको राजनीतिक प्रचारमा प्रयोग भइरहेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ ।
फ्रन्टले शनिबार जारी विज्ञप्तिमा बालबालिकालाई राजनीतिक गतिविधि वा चुनावी प्रचारमा संलग्न गराउनु अनैतिक मात्र नभई नेपालको कानूनअनुसार दण्डनीय अपराध भएको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ कि बालबालिकासम्बन्धी ऐन तथा निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताले चुनावी प्रचार, सार्वजनिक सामग्री वा राजनीतिक गतिविधिमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोग स्पष्ट रूपमा निषेध गरेको छ ।
जेनजी फ्रन्टले भनेको छ, “राजनीतिक लाभका लागि बालबालिकालाई अगाडि सार्नु बालअधिकारको गम्भीर उल्लङ्घन हो । लोकतान्त्रिक मूल्य र नैतिकताको ठाडो अपमान हो । बालबालिका कुनै पनि राजनीतिक दल, कार्यकर्ता वा उम्मेदवारका प्रचारका औजार होइनन्, हुनुहुँदैन ।”
फ्रन्टले सबै राजनीतिक दल, उम्मेदवार र कार्यकर्तालाई कानूनको सम्मान गर्दै बालबालिकाको प्रयोग नगर्न, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र जिम्मेवार तथा जवाफदेह बन्न आग्रह गरेको छ ।