हेटौंडा औद्योगिक क्षेत्रस्थित महाशक्ति सप (साबुन) कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको छ ।
जस्तापाताले बनाएको टहरामा भण्डारण गरिएका साबुन, प्लास्टिक तथा केमिकल सामग्री जलेर पूर्णरूपमा नष्ट भएका छन् । हेटौंडा उपमहानगरपालिका – ८ स्थित औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो उद्योगमध्ये एक महाशक्ति साबुन कम्पनीको गोदाममा शनिबार राति साढे ११ बजेदेखि आगलागी सुरु भएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि हेटौंडाका दुई दमकल, मकवानपुर प्रहरी टोली, सशस्त्र प्रहरी बल १४ नम्बर गणका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा रातभर खटिएका थिए ।
गोदाममा साबुन, र्यापर, कार्टुन र केमिकल सामग्री रहेको कारण आगो नियन्त्रणमा लिन समय लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पुस्कर बोगटीले जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।