नेपाली कांग्रेस पर्सा क्षेत्र–२ ले वीरगन्जस्थित नगरसभा गृहमा आयोजना गरेको कार्यकर्ता भेलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि कांग्रेस नेताहरूले कडा आक्रमण गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा कांग्रेस नेता अजयकुमार चौरसियाले बालेनलाई ‘लुसिफर’ को संज्ञा दिँदै उनलाई मधेसविरोधी पात्रको रूपमा चित्रण गरेका हुन् ।
“काठमाडौंमा मधेसीलाई सबैभन्दा धेरै दुःख दिने मान्छे बालेन हो,” चौरसियाले भने, “फलफूल व्यापारी, ठेलावाला र कबाड व्यवसायीमाथि गरिएको ज्यादती कुनै मधेसीले गर्न सक्दैन ।”
उनले बालेनलाई विकासको नाममा गरिब र श्रमिकमाथि प्रहार गर्ने शासकीय मानसिकताको प्रतीक भएको आरोप लगाए ।
“यो चोटि बाध्ने र्यापर हो,” भन्दै चौरसियाले थपे, “न मधेसको गीत गाएको छ, न मधेसीले त्यस्तो गीत सुन्न मन पराउँछन् । मधेससँग उसको कुनै भावनात्मक, सांस्कृतिक वा राजनीतिक सम्बन्ध छैन ।”
चौरसियाले बालेनप्रतिको बढ्दो लोकप्रियतालाई ‘भ्रमको खेती’ को संज्ञा दिँदै त्यसको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे ।
“यस्ता भ्रम बेच्ने पात्रहरूको पछि लागेर होइन, देशमा लोकतन्त्र जोगाउन कांग्रेसलाई मतदान गर्नुस्,” उनले अपिल गरे ।
भाषणका क्रममा उनले आत्मालोचना गर्दै भावनात्मक अपिलसमेत गरे ।
“मसँग विगतमा कुनै गल्ती भएको हुन सक्छ, त्यसका लागि म क्षमा चाहन्छु,” उनले भने, “तर यो निर्वाचन लोकतन्त्र बचाउने निर्णायक घडी हो । व्यक्तिगत कमजोरी बिर्सेर कांग्रेसलाई सहयोग गर्नुस् ।”
कांग्रेस पर्सा क्षेत्र–२ का अनुसार भेलामा आसन्न निर्वाचनलाई निर्णायक मोडमा पुर्याउने रणनीति, संगठन सुदृढीकरण तथा मतदाता परिचालनबारे पनि छलफल गरिएको थियो ।