जिल्लाको म्याग्दे गाउँपालिका–४ कोलडाँडास्थित कोलडाँडा–थर्पु भित्री सडकखण्डमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा म्याग्दे–४ कोलडाँडा निवासी बुद्धिबहादुर घर्तीकी १३ वर्षीया छोरी कोइस्का घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब ७:३० बजेको समयमा कोलडाँडाबाट थर्पुतर्फ जाँदै गरेको ग ३ च ५८३५ नम्बरको पिकअप भ्यान चालकले नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी कोइस्काको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको भए पनि बिहान करिब ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै, सोही स्थानका १५ वर्षीय दिपसन घर्ती छाती र कुममा चोट लागेर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका बेला चालकसहित तीन जना पिकअप भ्यानमा सवार रहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।