नेकपा एमालेले पार्टीका ६ लाख ६७ हजारभन्दा बढी सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित एकै विषयमा चिठी पठाएको छ ।
एमालेका अनुसार, यस चिठी पार्टीका संगठित सदस्यहरूलाई लक्षित गरी तयार पारिएको हो । पहिला संगठित सदस्य रहेका र हाल नवीकरण नगरेका सदस्यहरूलाई पनि चिठी पुगेको छ । आफूलाई चिठी आएको भन्दै केहीले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रतिक्रिया दिएका छन् ।
चिठीमा फागुन २१ को निर्वाचनसँग सम्बन्धित सन्देश दिँदै ‘निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हार–जितको फैसला गर्ने’ उल्लेख गरिएको छ । अध्यक्ष ओलीले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको कुरा पनि चिठीमा उल्लेख गरेका छन् ।
एमालेले जनाएको छ कि यसअघि पनि अध्यक्ष ओलीको हस्ताक्षरसहित यस्तै चिठी केन्द्रीय सदस्यहरूलाई पठाइएको थियो ।