मधेस प्रदेशमा राष्ट्रिय सभाका चार रिक्त सदस्य पद पूर्तिका लागि जारी मतदानमा उल्लेख्य सहभागिता देखिएको छ ।
निर्वाचन बिहान ९ बजे सुरु भएको थियो र दिउँसोसम्म १६३ मत खसेको छ। निर्वाचन कार्यालयका अनुसार खसेका मतमध्ये ५५ मत प्रदेशसभा सदस्यबाट र १०८ मत स्थानीय तहका जनप्रतिनिधिबाट खसेका हुन् ।
मतदान प्रक्रिया तोकिएको समयभित्रै सुचारु रूपमा अघि बढिरहेको छ। यस निर्वाचनमा मधेस प्रदेशबाट राष्ट्रिय सभाका चार सिटका लागि कुल ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । विभिन्न राजनीतिक दलका उम्मेदवारसहित केही स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन स्रोतका अनुसार मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ र त्यसपछि मतगणनाको तयारी सुरु गरिनेछ ।