काठमाडौं महानगरपालिका–३२, कोटेश्वरबाट प्रहरीले नक्कली हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार, पक्राउ पर्नेहरू झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहार हुन् ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी हतियार, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामले बनेको एउटा हतियार र एउटा मोटरसाइकल बरामद भएको छ ।
सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकल किरण घिमिरेको भएको खुलेको छ । नियन्त्रणमा लिएपछि काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृतिक नृत्य कला केन्द्रमा उनीहरूले नक्कली हतियार लुकाएर राखेको पनि पत्ता लागेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।