गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिविरुद्ध कारबाही गर्न उच्च निकायको आदेश कुर्नु नपर्ने बताएका छन् ।
आइतबार भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको निरीक्षणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई पनि तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न साइबर ब्युरोलाई सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अमर्यादित, तथ्यहीन तथा भ्रामक सूचना र समाचारको सूक्ष्म रूपमा अनुगमन गर्न आग्रह गरे ।
उनले मिथ्या सूचना प्रवाह गर्ने व्यक्तिविरुद्ध तत्काल कारबाही गर्नुपर्नेमा जोड दिँदै निर्वाचनलाई लक्षित गरी ब्युरोलाई अझ सक्रिय र सतर्क बन्न निर्देशन दिए ।