आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा भइरहेको छपाइ प्रक्रियाअन्तर्गत समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छपाइ भइरहेको जनाएको छ । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित मतदान केन्द्रहरूमा मतपत्र पुर्याउने लक्ष्य राखेको छ । मतपत्र सम्बन्धित स्थानमा पुगेपछि कानुनबमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था गरिएको छ ।
उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी गरिने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र १५ दिनभित्र छपाइ सकिने भण्डारीले बताए । उनका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने समानुपातिकतर्फ बन्दसूचीमा समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नेमा आयोग विश्वस्त रहेको पनि उल्लेख गरे ।