पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक तथा चुनावी रणनीति, साथै क्षेत्रका विभिन्न जनसमस्याका विषयमा व्यापक छलफल गरिएको पार्टी स्रोतले जनाएको छ । भेलामा सहभागी अगुवा नेता तथा कार्यकर्ताहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी तथा उत्तरदायी राजनीतिक अभ्यासलाई पार्टीको मूल एजेन्डा बनाउँदै नागरिकको आवाज सशक्त रूपमा संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । वक्ताहरूले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै परम्परागत राजनीति नागरिकमैत्री हुन नसकेको उल्लेख गरे ।
कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई अझ प्रभावकारी बनाउने, जनसम्पर्क विस्तार गर्ने, नयाँ कार्यकर्तालाई सक्रिय रूपमा समेट्ने तथा पुराना कार्यकर्तासँग समन्वय मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो । साथै, पार्टीको नीति, सिद्धान्त र कार्यदिशाबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा जनतामाझ पुग्ने रणनीतिबारे समेत छलफल गरिएको थियो ।
भेलामा पर्सा–२ क्षेत्रका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले नीतिगत, जवाफदेही र परिणाममुखी राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसै दिशामा अघि बढिरहेको बताए ।
त्यसैगरी, आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई विजय गराउने रणनीतिबारे समेत गम्भीर छलफल भएको जनाइएको छ । निर्वाचनमा पार्टीको पकड मजबुत बनाउने, घरदैलो अभियानलाई प्रभावकारी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने विषयमा कार्ययोजना तयार गरिएको बताइएको छ ।
भेलाको अवसरमा नयाँ तथा पुराना कार्यकर्ताबीच आपसी परिचय र समन्वय विस्तार हुनुका साथै संगठनात्मक एकता थप मजबुत भएको सहभागीहरूले बताएका छन् । पार्टीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै स्थानीय स्तरमै नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनआधारित राजनीति अघि बढाउने जनाएको छ ।