पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
युवाहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने नारासहित घरदैलाे कार्यक्रम गरिएको हाे । घरदैलो कार्यक्रमअन्तर्गत पार्टीका प्रतिनिधिहरू विन्दवसनी क्षेत्रका विभिन्न टोल तथा बस्तीहरूमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवादमा गरेका थिए । भेटघाटका क्रममा स्थानीयहरूले विकासका चुनौती, रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, खानेपानी समस्या, सडक तथा पूर्वाधार सुधारलगायत विषयमा आफ्ना गुनासा र सुझाव दिएका थिए ।
पार्टी प्रतिनिधिहरूले ती विषयहरूलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले पारदर्शी शासन, सुशासन, जवाफदेही राजनीति र नागरिकमैत्री विकास नै पार्टीको प्रमुख एजेन्डा रहेको स्पष्ट पारेका थिए । कार्यक्रमका क्रममा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे समेत जानकारी गराइएको थियो ।
स्थानीयस्तरमै जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या पहिचान र समाधानमुखी योजना निर्माण गर्ने रणनीति अपनाइएको रास्वापाले जनाएको छ ।