महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा बर्दिबास नगरपालिका–१ मा डेरा गरी बस्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर घर भएका ३१ वर्षीय सुनिल कुमार थिङ तामाङ र सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–५ का २८ वर्षीय महमद गफार अंसारी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५१ ग्राम ९ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.९ प २४१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा रोकी जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।