रूस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युद्ध चार वर्ष पुग्न लाग्दा दुवै देशले ठूलो मात्रामा सैन्य क्षति व्यहोरेका छन् ।
वासिङ्टनस्थित थिंक ट्यांक ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ (CSIS) को हालैको अध्ययनअनुसार युद्ध सुरु भएयता दुवै देशले करिब १८ लाख सैनिक गुमाएका छन् । यसमा मृत्यु, घाइते तथा बेपत्ता सैनिकको संख्या समावेश गरिएको छ ।
CSIS का अनुसार रूसतर्फ मात्र करिब १२ लाख सैनिक मृत्यु, घाइते वा बेपत्ता भएका छन् भने युक्रेनतर्फ करिब ६ लाख सैनिक प्रभावित भएका छन् ।
यदि हालको अवस्था यथावत् रहिरहेमा आगामी बसन्तसम्म कुल क्षति २० लाख नाघ्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार रूसी सेनातर्फ २ लाख ७५ हजारदेखि ३ लाख २५ हजार सैनिकको मृत्यु भएको अनुमान छ । युक्रेनतर्फ १ लाखदेखि १ लाख ४० हजार सैनिक मारिएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो सैन्य क्षति हो ।
सीमित भू–भाग मात्र कब्जा
यति ठूलो क्षति हुँदाहुँदै पनि रूसले सीमित मात्र भू–भाग कब्जा गर्न सकेको प्रतिवेदनमा उल्लेख छ । CSIS का अनुसार सन् २०२२ यता रूसले युक्रेनको भूमि जम्मा १२ प्रतिशत मात्र थप नियन्त्रणमा लिएको छ । पछिल्ला दुई वर्षमा यो वृद्धि १.५ प्रतिशतभन्दा कम रहेको जनाइएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार कतिपय क्षेत्रमा रूसी सेना दिनमा ५० देखि २३० फिट मात्र अघि बढ्न सकेको छ । यो गति पहिलो विश्वयुद्धको ‘ब्याटल अफ सोम’ जस्ता ऐतिहासिक युद्ध अभियानभन्दा पनि सुस्त रहेको CSIS ले जनाएको छ ।
युक्रेनको रक्षात्मक रणनीति प्रभावकारी
युद्ध मैदानमा युक्रेन रक्षात्मक अवस्थामा रहे पनि ‘डिफेन्स–इन–डेप्थ’ रणनीतिका कारण उसले रूसी अग्रगमन रोक्न सफल भएको प्रतिवेदनले जनाएको छ ।
CNN का अनुसार खाइँ, ट्यांक अवरोध, बारुदी सुरुङ, ड्रोन र तोपखानाको संयोजनले रूसी सेनालाई रोकिएको छ ।
युद्धक्षतिको अनुपात पनि युक्रेनको पक्षमा २ देखि २.५ गुणासम्म रहेको बताइएको छ ।
आधिकारिक तथ्यांक सार्वजनिक नगर्ने प्रवृत्ति
ABC न्युजका अनुसार रूस र युक्रेन दुवैले क्षतिको आधिकारिक विवरण नियमित रूपमा सार्वजनिक गर्दैनन् ।
रूसले हालसम्म करिब ६ हजार सैनिकको मृत्यु मात्र स्वीकार गरेको छ, जसलाई स्वतन्त्र विश्लेषकहरूले अविश्वसनीय बताएका छन् ।
भर्ती अभियान र उत्तर कोरियाली सैनिक
CSIS का अनुसार उच्च क्षति पूर्ति गर्न रूसले दोस्रो विश्वयुद्धपछि पहिलो पटक व्यापक भर्ती अभियान चलाएको छ ।
कैदी तथा ऋणीहरूलाई सेनामा भर्ती गरिएको र ठूलो आर्थिक प्रोत्साहन दिइएको जनाइएको छ ।
यसैबीच, उत्तर कोरियाका करिब १५ हजार सैनिक रूसी पक्षमा लडेका छन्, जसमा सयौंको मृत्यु भएको दक्षिण कोरियाली गुप्तचर स्रोतले अनुमान गरेको छ ।
रूसी अर्थतन्त्रमा गम्भीर असर
युद्धले रूसी अर्थतन्त्रमा पनि गम्भीर असर पारेको प्रतिवेदनले जनाएको छ ।
CNN का अनुसार सन् २०२५ मा रूसी आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित भएको छ । उत्पादन घट्दै गएको छ, श्रम अभाव बढेको छ र विश्वका शीर्ष १०० प्रविधि कम्पनीमध्ये कुनै पनि रूसी कम्पनी छैन ।
CSIS का लेखक सेथ जी. जोन्सले न्यूयोर्क टाइम्ससँग भनेका छन्,
“युक्रेनमा कमजोर सैन्य प्रदर्शन र घट्दो आर्थिक उत्पादनले रूस ठूलो शक्ति रूपमा गम्भीर रूपमा कमजोर भएको देखाउँछ ।”
पुटिन शान्ति वार्तामा अनिच्छुक
CSIS को निष्कर्षअनुसार, राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमी देशहरूको थप दबाब नपरेसम्म शान्ति सम्झौतामा तयार हुने सम्भावना कम छ ।
प्रतिवेदनमा भनिएको छ,
“थप दबाब नपरेसम्म पुटिनले वार्ता लम्ब्याउने र युद्ध जारी राख्ने सम्भावना उच्च छ, चाहे त्यसको मूल्य लाखौं मानवीय क्षति नै किन नहोस् ।”