राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्जिनियर अरविन्द साहले कलैया उपमहानगरपालिका–११ स्थित विश्वम्भरपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
स्थानीय बासिन्दाको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा साहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक एजेन्डा र विकास योजनाबारे जानकारी गराए । घरदैलो कार्यक्रमका क्रममा साहले भ्रष्टाचार, बेथिति तथा सरकारी संरचनाभित्रको दलीयकरण अन्त्य गर्दै पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । “विकसित र समृद्ध राष्ट्र निर्माणका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक छ,” भन्दै उनले घण्टी छापमा मतदान गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्न मतदातासँग आग्रह गरे ।
कार्यक्रममा बोल्दै साहले बारा जिल्लाको सदरमुकाम कलैयामा देखिएका आधारभूत समस्याहरू—सडक, सरसफाइ, खानेपानी, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर—को दीर्घकालीन समाधानका लागि आफूसँग स्पष्ट योजना रहेको बताए । “स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै कलैयाको मुहार फेर्ने मसँग ठोस योजना छ,” उनले भने ।
उनले कलैयालाई आधुनिक पूर्वाधार, व्यवस्थित सहरी योजना र नागरिकमैत्री सेवासहित “नमुना सहर” का रूपमा विकास गर्दै मधेसकै केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । स्थानीय सरकार र सङ्घीय निकायबीच समन्वय सुदृढ गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । साहले युवाहरूलाई रोजगारीमुखी सीप विकास, महिला उद्यमशीलता प्रवर्द्धन तथा कृषिमा प्रविधि भित्र्याएर आर्थिक गतिविधि विस्तार गर्ने योजनासमेत रहेको उल्लेख गरे ।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयहरूले विकास, सुशासन र पारदर्शिताप्रति उम्मेदवारको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । कार्यक्रमको अन्त्यमा साहले मतदाताका सुझाव तथा गुनासोलाई प्राथमिकतामा राख्दै आगामी दिनमा नियमित संवाद र अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरे ।