राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवारले निर्वाचन लक्षित घरदैलो भेटघाट कार्यक्रम सञ्चालन गरेका छन् ।
बहुदरमाइ नगरपालिका वडा नम्बर–२ स्थित बैरियाविर्ता क्षेत्रमा सुशिल कुमार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएका हुन् । साथै, पार्टीको राजनीतिक एजेन्डा, विकास योजना तथा सुशासन र पारदर्शिताप्रतिको प्रतिबद्धताबारे मतदातालाई अवगत गराएका छन् ।
स्थानीयवासीहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए । पार्टी प्रतिनिधिहरूले ती विषयलाई आगामी नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घरदैलो कार्यक्रममा युवाहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
आगामी दिनहरूमा पनि पर्सा–२ का विभिन्न क्षेत्रमा यस्ता जनसंवाद तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिने रास्वापाले जनाएको छ ।