पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आजदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रमको सुरुवात गरेका छन् ।
घरदैलो कार्यक्रम वीरगञ्जस्थित सौराहा गाउँबाट प्रारम्भ भई भवानिपुर, मनिहारी गाउँ, इनरुवा गाउँ हुँदै हरपतगञ्ज आपौनी गाउँमा पुगेर समापन गरिएको थियो । कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा तथा सुझाव सुनेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाको नेतृत्वमा नै परिवर्तन सम्भव हुने उल्लेख गरे । “शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर र गाउँ–समाजको विकासका लागि काठमाडौंमै धाउनु पर्दैन, गाउँमै बसेर पनि विकास सम्भव छ,” उनले भने । उनले सिंहदरबार काठमाडौंमै मात्र सीमित नहुनुपर्ने उल्लेख गर्दै “अब हरेक गाउँ–घरमा सिंहदरबारको अनुभूति गराउने हाम्रो लक्ष्य हो,” भन्दै समावेशी विकास, स्थानीय रोजगारी सृजना तथा गाउँ केन्द्रित नीति आवश्यक रहेको धारणा व्यक्त गरे । घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले उज्यालो नेपाल पार्टीप्रति जनताको उत्साह र विश्वास बढ्दै गएको प्रतिक्रिया दिएका छन् । उम्मेदवार सिंहले आगामी दिनहरूमा पनि निर्वाचन क्षेत्रभित्र निरन्तर जनसम्पर्क र संवादलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।