जिल्ला प्रहरी परिसर काठमाडौंले विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले यसबारे जानकारी दिएको हो ।
संयुक्त प्रहरी टोलीमा प्रहरी वृत्त स्वयम्भू, गौशाला, बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंका सदस्यहरु सहभागी थिए । प्रहरीले बुधबार राति काठमाडौंको मूलपानीमा गोली चलाएर गिरोहको मुख्य योजनाकारसहितका सदस्यहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बिनय तामाङ, आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजिव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन् । बिनय तामाङलाई गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।
एसएसपी रमेश थापाका अनुसार, पक्राउ परेका सबै व्यक्ति आपराधिक पृष्ठभूमिका हुन् । उनीहरु दिनमा ट्याक्सी चलाउने र रातमा लुटपाटमा संलग्न हुने गर्थे। यस गिरोहले जनेजी आन्दोलनपछि लुटपाटमा सक्रियता बढाएको देखिएको छ ।
गिरोहसँगबाट लुटपाटमा प्रयोग गरिएका एउटा निजी कार, एउटा ट्याक्सी र ६ वटा मोटरसाइकल समेत बरामद गरिएको छ । अहिलेसम्म गरगहना र नगद लुटपाटमा २७ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
त्यस्तै, प्रहरीले ३३ किलो सुन प्रकरणमा फरार प्रतिवादी सुरेन्द्र गौतमलाई पनि पक्राउ गरेको छ । गौतममाथि सनम शाक्य अपहरण, शरीर बन्धक राख्ने र ज्यान सम्बन्धी अपराधको मुद्दा रहेको बताइएको छ ।