शहीद दिवसको अवसर पारेर बारा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक सक्रियता तीव्र बनाएको छ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार इञ्जिनियर अरविन्द साहले कलैया उपमहानगरपालिका १४, बघवनमा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गर्दै घरदैलो कार्यक्रमसमेत सम्पन्न गरेका छन् ।
समारोहलाई सम्बोधन गर्दै उम्मेदवार साहले लोकतान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण शहीदहरूप्रति सम्मान व्यक्त गरे। उनले विशेषगरी जेन–जी आन्दोलनका क्रममा भएको राज्य दमन, हत्या र हिंसाले मुलुकको राजनीतिक चेतनामा गहिरो प्रभाव पारेको उल्लेख गरे । साहले नेकपा (एमाले) तथा नेपाली काँग्रेसका केही नेताहरूबाट जेन–जी शहीदबारे आएका नकारात्मक टिप्पणीप्रति आपत्ति जनाउँदै शहीदहरूको बलिदान कुनै दल वा विचारधाराभन्दा माथि हुने बताए ।
“देश परिवर्तनका लागि ज्यान अर्पण गर्ने शहीदहरू सबै नेपालीका साझा गौरव हुन्,” उनले भने । घरदैलो कार्यक्रमका क्रममा साहले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरे। पारदर्शी शासन, रोजगारी सिर्जना, शिक्षा र प्रविधिमा लगानी तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ थियो। उनले रास्वपाले जेन–जीलाई केवल नारा होइन, निर्णयको केन्द्रमा राखेको दाबीसमेत गरे ।
“देशलाई नयाँ दिशा दिन युवाहरूको ऊर्जा र नेतृत्व अपरिहार्य छ,” साहले भने, “जेन–जी शहीदहरूको सपना पूरा गर्न हामी पुरानो राजनीतिक अभ्यास तोड्दै नयाँ संस्कृतिको निर्माणमा लागेका छौँ । ” घरदैलोका क्रममा उनले मतदाताहरूलाई रास्वपाको घण्टी चुनाव चिह्नमा मतदान गरी परिवर्तनको पक्षमा उभिन आग्रह गरे । कार्यक्रममा सहभागी स्थानीय युवाहरू र नागरिकहरूले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा स्थानीय विकासप्रति आफ्ना अपेक्षा राखेका थिए। उम्मेदवार साहले ती विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमको समापनमा साहले शहीद दिवस स्मरण मात्र नभई परिवर्तनका लागि निरन्तर संघर्ष गर्ने सङ्कल्पको दिन भएको उल्लेख गर्दै जनताको साथ र विश्वासले नयाँ राजनीतिक संस्कृतिको जग बसालिने विश्वास व्यक्त गरे ।