उदयपुरको कटारी नगरपालिकामा किसानका लागि आएको २०० बोरा भन्दा बढी अनुदानको युरिया मल कालोबजारी गर्दै सिन्धुलीको दुधौली पठाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
कटारीका किसानका लागि वितरण गर्न ल्याइएको युरिया मल बिहीबार बेलुका अवैध रूपमा दुधौलीतर्फ पठाउँदै गरिएको सूचनाका आधारमा किसान संघर्ष समिति र स्थानीय प्रहरीको संयुक्त पहलमा नियन्त्रणमा लिइएको हो ।
दुर्गा भवानी कृषि सहकारी संस्था, जसका सञ्चालक पेशल भट्टराई र हिरा बास्तोला रहेका छन्, ले अनुदानको मल अवैध रूपमा बिक्रीका लागि पठाइरहेको सूचना पाएपछि किसान संघर्ष समितिका संयोजक गणेश थापाको नेतृत्वमा टोलीले उक्त मल फेला पारेर प्रहरीको जिम्मा लगाएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार समितिको पहलमा मल र घटनामा संलग्न व्यक्तिहरूलाई दुधौली प्रहरीको जिम्मा लगाइएको हो ।
किसानहरूले मलको चरम अभाव झेलिरहेका बेला सहकारी संस्थाले नै अनुदानको मल अन्यत्र बिक्रीका लागि पठाउनु गैरकानुनी कार्य भएको किसान संघर्ष समितिको भनाइ छ । समितिले घटनामा संलग्न सबैमाथि कडा कारबाही गर्न माग गरेको छ ।
समिति संयोजक थापाले मल वितरण प्रक्रियामा कमिसन, कालोबजारी र कृत्रिम अभाव सिर्जना भइरहेको आरोप लगाए । उनका अनुसार मल वितरणमा पारदर्शिता नहुँदा किसानहरू समस्यामा परिरहेका छन् ।
कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काको संयोजकत्वमा मल बिक्रीका लागि सहकारी संस्थालाई सिफारिस गर्ने समिति गठन गरिएको छ । सो समिति र कृषि शाखाको सिफारिसमा आउने मलमा समेत कालोबजारी हुने गरेको किसानहरूको गुनासो रहेको छ ।
घटनापछि नगर उपप्रमुख तथा स्थानीय मल वितरण व्यवस्थापन समिति संयोजक खड्काको अध्यक्षतामा बसेको बैठकले दुर्गा भवानी कृषि सहकारी संस्थाको मल बिक्री सम्बन्धी प्रमाणपत्र खारेजका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै, कटारी नगरपालिकाभित्र रहेका मल विक्रेताका गोदाममा संयुक्त अनुगमन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यस घटनाबारे दुधौली प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।