पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले संसदीय सम्पर्क कार्यालय स्थापना गरी २४ घण्टा जनताको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वीरगंज महानगरपालिका वडा नम्बर–१५, लक्षमनवामा आयोजित भेटघाट, संवाद तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले वीरगंजको गौरव पुनःस्थापना गर्दै सबैले गर्व गर्न सक्ने शहर बनाउने स्पष्ट भिजन जनमत पार्टीसँग रहेको बताए। उनले जनमत पार्टी र हर्न चुनाव चिह्नमा मतदान गर्दै वीरगन्ज तथा पर्साको विकास र समृद्धिको अभियानमा साथ दिन मतदातासँग आग्रह गरे।
उम्मेदवार सरार्फले जनताका समस्या र गुनासो सुन्न हेल्प डेस्क स्थापना गरी २४ घण्टा सेवा उपलब्ध गराइने संकल्पसमेत व्यक्त गरेका छन् । “जनतासँग निरन्तर सम्पर्कमा रहन र समस्या समाधानलाई प्राथमिकतामा राख्न संसदीय सम्पर्क कार्यालय महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, नजमा खातुन, महादेव शर्मा, भुपेन्द्र साह, निराजन कुशवाहा, सहनवाज राकि, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।घरदैलोका क्रममा स्थानीय नागरिकहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवासम्बन्धी आफ्ना अपेक्षा र सुझावहरू उम्मेदवार सरार्फसमक्ष राखेका थिए ।
उम्मेदवार सरार्फले ती विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।